विधानसभा अध्यक्ष एवं विधायक दरामदिन निर्वाचन क्षेत्रका एम. एन. शेर्पाको अध्यक्षतामा दरामदिन क्षेत्रका सम्पूर्ण १० वटा गाउँ पंचायत इकाई (GPU) का पञ्चायतहरूसँग एक महत्वपूर्ण बैठक सम्पन्न भयो। बैठकको मुख्य उद्देश्य सिक्किम सरकारद्वारा आमाहरुलाई सशक्त बनाउने लक्ष्यसहित सुरु गरिएको “आमा योजना” को प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नु रहेको थियो।
यस ऐतिहासिक कार्यक्रममा अध्यक्षले जानकारी गराउँदै यस वर्षको अगस्ट १० तारिखको जनउन्मुक्ति दिवसलाई “आमा सम्मान दिवस” को रूपमा मनाइनेछ, जुन कुरा मुख्यमन्त्री प्रेम सिंह तामाङद्वारा आफ्नो सम्बोधनमार्फत घोषणा गरेको बताइयो।
“आमा योजना” अन्तर्गत सिक्किमभरिका १८ देखि ५९ वर्ष उमेर समूहका आमाहरू समेटिनेछन्। यस योजनाको सफल कार्यान्वयनका लागि अध्यक्षले सम्पूर्ण पञ्चायत र प्रशासनलाई सरकारी मापदण्डअनुसार नयाँ लाभार्थीहरूको सूची तयार गर्न निर्देशन दिए। साथै, प्रत्येक निर्वाचन क्षेत्रबाट १० जना लाभार्थी आमाहरूलाई “आमा सम्मान दिवस”मा मुख्यमन्त्रीकै हातबाट योजना अन्तर्गतको लाभ प्रदान गरिने जानकारी दिए।










